भारतको निर्मा यूनिभर्सिटी, इन्स्टिच्यूट अफ ल, १४ देखि १६ मंसिरमा काठमाडौंमा आयोजित १३औं हेनरी ड्यूना स्मृति मुट कोर्ट प्रतियोगिताको दक्षिण एसियाली राउण्डको विजेता बन्न सफल भएको छ । श्रीलंकाको यूनिभर्सिटी अफ कोलम्बो प्रतियोगिताको उप–विजेता रह्यो ।

नेपाल सरकारका पूर्व कानून सचिव एवम् फाइनल राउण्डका तिन निर्णायक मध्ये एक भेषराज शर्माले सहभागि विद्यार्थिहरुको अन्तर्राष्ट्रिय मानवीय कानूनको ज्ञानको खुलेर प्रशंशा गर्नुभयो । साथै उहाँले शान्तिकालमा अन्तर्राष्ट्रिय मानवीय कानूनको प्रबर्दन एवम् प्रचार प्रसारमा आईसीआरसीको भूमिकाको पनि सराहना गर्नुभयो ।

समापन समारोहमा विजेता तथा उप विजेता टोलिका अलावा अन्य व्यक्तिगत तथा समूहगत विधामा पनि पुरस्कारहरू प्रदान गरिएको थियो । समिरा माथिस, राघव भार्गव र नमन लोहिया सहितको गुजरात नेसनल ल यूनिभर्सिटीले ‘सर्वोत्कृष्ट मेमोरियल’ विधाको पुरस्कार हात पार्दा सोहि टोलिकी समिरा माथिस ‘सर्वोत्कृष्ट वक्ता’ घोषित भएकी थिइन् । त्यस्तै, काठमाडौं स्कूल अफ ल कि बन्दना उप्रेती प्रतियोगिताकै ‘सर्वोत्कृष्ट रिसर्चर’ ठहरिइन् ।

उप–विजेता हुन सफल कोलम्बो यूनिभर्सिटी, श्रीलंकाका टोलिका सदस्यहरूः ताहिरा कादर, तविनी नन्याक्कारा र सैधु रत्नराजन सहित © आईसीआरसी

 

“विजयी टोलिहरूलाई हार्दिक बधाई छ । निश्चय नै परिणामले महत्व राख्दछ, तर सिकाइ प्रक्रिया त्यो भन्दा पनि महत्वपूर्ण हुन्छ भन्ने यहाँ बुझ्न आवश्यक छ,” आईसीआरसी नेपालका प्रमुख अन्द्रे पाकेले समापन सत्रमा सहभागिहरूलाई सम्बोधन गर्दै भन्नुभयो । “कुनै पनि प्रतियोगिताको प्रक्रियाबाट हामीले केहि अनुभव हासिल गर्नुका साथ साथै केहि सिकिरहेका पनि हुन्छौं । अन्तर्राष्ट्रिय मानवीय कानूनमा यहाँहरूको गहिरो ज्ञानप्रति हामी प्रसन्न छौं ।”

दक्षिण एसियाका नेपाल, भारत र पाकिस्तानका दुइ तथा श्रीलंकाको एक एवम् इरानका दुइ गरि जम्मा नौ शैक्षिक संस्थाहरु यस प्रतियोगितामा प्रतिस्पर्धारत थिए । विजेता र उप–विजेता बाहेक सेमिफाइनल चरणमा पुग्न सफल भारतको गुजरात नेसनल यूनिभर्सिटी अफ ल र इरानको यूनिभर्सिटी अफ तेहरानले समेत मार्च २०१८ मा हंगकंगमा हुने प्रतियोगिताको एसिया प्रशान्त राउण्डमा आफ्नो स्थान सुरक्षित गरेकाछन् ।