मात्र केहि मिनेटको अन्तरालमै मरमेण्डुको जिन्दगी सम्पूर्ण रुपमा बदलिन पुगेको थियो, दुइ बर्ष अगाडि बैशाख १२, २०७२ मा जब नेपाललाई आठ शताब्दी यताकै सबैभन्दा डरलाग्दो भूकम्पले नराम्रोसँग हल्लाएको थियो । महाभूकम्पले उनका बुबा लगायत परिवारका अन्य सदस्यहरूलाई त लग्यो नै, जाँदा जाँदै उनलाई समेत जिवनभर नमेटिने एउटा अप्रिय चिनो दिएर गयोM उनको एउटा खुट्टा नै काट्नु प¥यो । आज उनी उक्त घटनालाई जिन्दगीको एक अध्यायको अन्त्यको रुपमा त सम्झिन्छिन् नै, साथै सम्झिन्छिन् एक नयाँ शुरुवातको रुपमा पनि ।

उमेरले ५२ कि मरमेण्डु समुन्द्रटार (नुवाकोट) स्थित घरबाट नजिकै रहेको आफ्नो माइतीमा थिइन् त्यस दिन जब धर्ती डरलाग्दोसँग काँपेको थियो, पहिलोपटक । परिवारका एक सदस्यको मृत्युसंस्कारमा व्यस्त उनीहरू पाहुनालाई खानेकुरा खुवाउँदै थिए त्यसबखत । भूकम्पले घर यस्तोसँग हल्लायो कि यसको छानानै खसेर बज्रियो मरमेण्डुमाथि ।

“म असह्यै पीडामा थिएँ, किनभने घर छाउन लगाइएको जस्ता मेरो कुर्कच्चामा आएर गडेको थियो, म भने त्यतिबेला सम्मपनि त्यसलाई सपना नै ठानिरहेकि थिएँ,” भयानक दुर्घटनाका शुरुवाती क्षण सम्झिन्छिन् उनी । दुर्गम गाउँमा भएकाले मरमेण्डुसम्म उद्धार पुग्नै ढिलो भयो । भूकम्पको दुई दिन पश्चातमात्र सेनाको हेलिकप्टरले उनलाई काठमाडौं स्थित सैनिक अस्पताल पु¥यायो, जहाँ अचेत अवस्थामा उनको उपचार शुरु भयो । होशमा आउँदा उनले दाहिने खुट्टा घुँडामुनिबाट काटिएको पाइन् । उद्धारमा ढिलाइले गम्भीर असर गरेको थियो, र उनलाई जोगाउन चिकित्सकहरू उनको खुट्टा काट्न बाध्य भएका थिए । अत्यधिक रक्तश्रावका कारण परिवारले उनलाई जीवित देख्ने आशा लगभग मारिसकेका थिए । तर उनी लडिन् र बाँच्न सफल भइन् ।

उपचारपश्चात घर फिरे पछि उनको जिन्दगी थप चुनौतिपूर्ण बन्न पुग्यो किनभने घरभित्र होस् या बाहिर, उनले घस्रेर निर्वाह गर्नपर्ने भयो । फलस्वरुप अक्सर उनका घुँडा चोटले छियाछिया भईरहन्थे ।

आईसीआरसी नेपालका स्वास्थ्य विभाग प्रमुख जगदिश श्रेष्ठ कृतिम खुट्टाको जाँच गर्दै © विनोद काफ्ले, आईसीआरसी

 

एराहिटी पुनर्स्थापना केन्द्र पुगेपछि

खुट्टा गुमाएको लगभग बाईस महिना वितिसकेपछि माघ २०७३ मा मरमेण्डुलाई काठमाडौंमा अवस्थित रहेको नेपाली सेनाद्धारा संचालित एराहिटी पुनर्स्थापना केन्द्रमा पु¥याइयो । पुनर्स्थापना केन्द्रमा ४ दिनको बसाइ अवधिमा उनले कृत्रिम खुट्टा लगाएर हिंडडुल गर्न सिकिन् । काठमाडौंको यस केन्द्र एवं पोखरास्थित हरियो खर्क अस्पताललाई आईसीआरसीको सहयोग प्राप्त छ । काठमाडौं स्थित आईसीआरसी नेपाल नियोगका स्वास्थ्य विभाग प्रमुख जगदिश श्रेष्ठ भन्छन् “महाभूकम्पपश्चात यि दुई केन्द्रबाट कुल ६० जना घाइतेले शारिरीक पुनर्स्थापनाको सेवा प्राप्त गरेका थिए ।”

“भूकम्पअगाडि मैले खेतबारीमा कृषिकर्म गर्थै, अब त्यो सम्भव भएन । तैपनि यो कृत्रिम खुट्टाको आडमा म घरधन्दा गर्न सक्छु, बाहिरका अन्य काम श्रीमानले गर्नुहुन्छ ।”

मरमेण्डुका श्रीमान मिनसिं तामाङ्ग, बर्ष ५८, भन्छन् “कृत्रिम खुट्टा पहिलेको जस्तो त के हुन्थ्यो र तैपनि यसले हामीलाई राहत भने दिएको छ । आजकल बाहिर काम गर्न जाँदा मलाई उसको पहिला जस्तो सुर्ता हुँदैन किनभने उनी आफैं धेरै काम गर्न सक्छिन् । टेक्ने लौरोको मात्र भरमा म यत्ति निश्चिन्त हुन सक्दैनथें ।”

कहिलेकाहिं बरु त्यति बेलै मरेको भए बेसै हुन्थ्यो जस्तो सोंचाई नआउने होइन मरमेण्डुको मनमा, तर जब नातिनातिना सम्झिन्छिन्, उनको मुहार फेरि धपक्क बल्छ । “नयाँ खुट्टाका कारण म दैनिक घरधन्दा त गर्न सक्छु नै, त्यो भन्दा ठूलो कुरा म मेरा नातिनातिनको वरिपरि बस्न पाउँछु, उनीहरु मेरै आँखा अगाडि हुर्केको हेर्न पाइराछु । अझ महत्वपूर्ण कुरा म आफैं हिंड्न सक्ने भएकीछु ।”

आफ्नो कृत्रिम खुट्टाको बढि भन्दा बढि उपयोग कसरि गर्ने भन्नेबारे मरमेण्डुलाई थप परामर्श चाहिएको छ । त्यसैले त उनी जेठमा पुनः एराहिटी पुनर्स्थापना केन्द्र जाने सुरमा छिन् र त्यसबखत प्राविधिकको प्रत्यक्ष निगरानीमा यो खुट्टा लगाएर थप अभ्यास गर्ने उनको सोंच छ । “यसपटक म अलि धेरै दिन बस्छु, र अझ बढी आत्मविश्वास लिएर घर फर्कनेछु ।”