‘एम्बुलेन्स अंकल’ नेपालीहरुको मुस्कानलाई उनीहरूको गहना भन्न रुचाउँछन् । उनी भन्छन् “त्यत्रो महाविपत्तिको घडीमा समेत हाम्रा दिदीबैनी, दाजुभाइहरूले मुस्कुराउन भुलेनन् ।” करिब ९००० व्यक्तिहरूको ज्यान लिने गरि एकबर्ष अगाडि आएको महाभूकम्पको सम्झना ताजै छ उनमा ।

एक दशकभन्दा लामो समयदेखि नेपाल रेडक्रस सोसाइटीका स्वयंसेवक रहेका नारायण कुमार श्रेष्ठ एक्लैले करिब ११५ भन्दा बढी घाइतेहरूको जीवन बचाएका थिए । एम्बुलेन्सहरू पुग्न नसक्ने स्थानहरूमा उनले राहतका सामाग्री पुर्याउनुको अलावा धेरै बालबालिकाहरूलाई बोकेरै सुरक्षित स्थानसम्म ल्याएका थिए र उनको यहि निस्वार्थ सेवाले उनलाई नयाँ नाम दिलायो ‘एम्बुलेन्स अंकल’ । प्राथमिक उपचार तथा विपद् व्यवस्थापनमा विभिन्न तालिम हासिल गरेका उनलाई तिनै तालिम र ज्ञानले उनको उद्धारकर्ममा सघाए र जसका कारण उनले बालबालिका, बृद्धबृद्धा, गर्भवती महिलाहरूलाई सहायता गर्न सके । विगतका दिनहरूमा बाढी, पहिरो तथा आगलागी जस्ता घटनाका दौरानमा गरिएको उद्धारकर्मका अनुभव पनि उपयोगि रहन पुगे उनका निम्ति ।

तर पनि भूकम्पको तीब्रता नारायणको अनुमानभन्दा धेरै विशाल थियो । “हामी यसका लागि तयार थिएनौं । जब भूकम्प आयो तब हामीलाई महशुश भयो कि हामीसँग पर्याप्त श्रोतसाधनहरू थिएनन् न आवश्यक जनशक्ति नै थियो न सीप न क्षमता नै । उक्त विशाल विपद्को समयमा प्रभावितहरूलाई मदतगर्न हाम्रा स्वयंसेवकहरूको संख्या न्यून थियो ।”

नारायण कुमार श्रेष्ठले गत बर्ष ११५ भन्दा बढीको जीवन बँचाए । © आईसीआरसी

नारायण कुमार श्रेष्ठले गत बर्ष ११५ भन्दा बढीको जीवन बँचाए । © आईसीआरसी

नारायणको गृहजिल्ला धादिङमा मात्र रेडक्रसका स्वयंसेवकहरूले ६७५ जनाको उद्धार गर्नसकेका थिए । “अहिले म सोंच्छु त्यसबेला म जत्तिको तालिमप्राप्त अरु १०, ५० अथवा १०० स्वयंसेवकहरू भइदिएका भए कस्तो हुन्थ्यो होला ? हामीले सम्भवतः अझ धेरै घाइतेको जीवन बचाउँन सक्थ्यौं होला ।”

उनी पूर्वतयारी अझ सशक्त बनाउन अरु धेरै जुनिएर रेडक्रस स्वयंसेवकहरूलाई तालिम दिनपर्ने टड्कारो आवश्यकता देख्छन् । “मेरो उमेर ढल्कँदै छ र त्यही अवस्थामा अन्य तालिमप्राप्त स्वयंसेवकहरू पनि छन् । हामीले अब रेडक्रस स्वयंसेवकहरूको नयाँ पुस्ता तयार गर्नपर्छ किनभने यस्ता संकटका घटनाहरू फेरि पनि आइपरेका अवस्थामा उनीहरूले धेरै गर्न सक्छन् ।”

तपाइँका अगाडि ठूलो संख्यामा प्रभावितहरू भएको अवस्थमा उद्धार तथा राहतका काम संचालन गर्नु सजिलो हुँदैन । “कसलाई पहिले सहयोग गर्न सकिन्छ भनेर निर्णय लिन नै एकदम कठिन हुन्छ किनभने सबै नै सहयोगको आवश्यकतामा हुन्छन्, त्यस्तोमा कुन आधारमा अगि बढ्ने ? त्यो समय सम्झिंदा मलाई एउटा बालक झभ्झली मेरो आँखा सामुन्ने आइरहन्छ । गाह्रो लडेर आमासँगै च्यापिएको उक्त बालक उनकै अँगालोमा थियो र अवस्था यस्तो दारुण थियो कि कोहि पनि उनीहरूलाई त्यहाँबाट निकाल्न जाने आँट गरिरहेका थिएनन् । मैले उनीहरुलाई त्यहाँबाट बाहिर निकाल्दासम्म उनीहरूको प्राण गइसकेको थियो ।”

मानिसहरू आफैं नै संलग्न हुँदा उद्धारका कामहरू बढी असरदार हुन्छन् भन्ने नारायणको ठम्याई छ । “त्यसपछि हामीले छेवैमा उभिएकाहरूलाई पनि हामीले गरिरहेको काममा सहभागी गराउन शुरु गर्यौं । भत्किएका, टुटेफुटेका ढुंगा, ईट्टा, काठ आदि पन्छाउने काममा हामीले उनीहरूलाई खटायौं र पछि उनीहरू र अन्य व्यक्ति समेत स्वस्फूर्त रुपमा काममा लाग्न थाले जसका कारण हाम्रो कामले गति लिन सक्यो ।”

आपतकालिन अवस्थामा काम गर्ने रेडक्रसका स्वयंसेवकहरूको सुरक्षामा ध्यान दिइनुपर्ने धारणा छ एम्बुलेन्स अंकलको । “अरु कुरा सँगसँगै रेडक्रसका हामीजस्ता स्वयंसेवीहरूको कुनै प्रकारको बिमा गर्नेबारे सोंच्न पर्ने समय पनि आइसेकेको हो कि जस्तो लाग्छ मलाई किनभने यस्ता जोखिमको अवस्थामा काम गर्दा हामीलाई कतै तलमाथि केहि भइहाल्यो भने पनि कमसेकम हाम्रा परिवारको भविष्य त सुरक्षित रहन्छ ।”

Psycho-social first-aid session held after the earthquake.

भूकम्पपश्चात संचालित मनोबैज्ञानिक प्राथमिक उपचार सत्रका दौरान । © नेरेसो

बैशाख १२ को महाभूकम्प पश्चात त्यहि महिनको २९ को दास्रो ठूलो धक्का सम्झँदै उनी भन्छन्, “त्यसबेला हामी मनोबैज्ञानिक सहायता सत्रमा व्यस्त थियौं । मानिसहरू पहिलो धक्को त्राससँग अझै लड्दै थिए कि त्यस्तो भयो । धेरैले लौ अब सबै सकिने भयो भन्न थाले । तर जब धर्ती काँप्न छोड्यो हामी फेरी एकैठाउँमा भेला भयौं र हाम्रो सत्र जारी राख्यौं । अनुभव आदान–प्रदानले ठूलो फरक पार्यो र मानिसहरूमा थप आत्मविश्वासको संचार भयो ।”

“मनोबैज्ञानिक सहयोग हासिल गरेको मेरो लागि त्यो पहिलो अनुभव थियो,” आईसीआरसीको सहयोगमा संचालित त्यस्ता मनोबैज्ञानिक सहयोग सत्रहरूको महत्वमाथि प्रकाश पार्दै नारायणले भने । “यसले त्रसित समुदायलाई भूकम्पको त्रासदीबाट बाहिर निस्कन मदत त गर्यौ नै, मैले के पनि अनुभूति गरें भने खाना, वासस्थान जस्ता आधारभूत आवश्यकताका साथ साथै मानिसका मनोबैज्ञानिक आवश्यकताहरूलाई पनि सम्बोधन गरिनु जरुरी छ । सबैखालका सहयोगहरू सँगसँगै गरिनु पर्छ किनभने एक विना अर्को अधुरो हुनजान्छ ।”