काठमाडौं (आईसीआरसी ÷नेरेसो) — एउटा नाटक मञ्चन, एक कविता वाचन एवं नेपालमा बेपत्ता व्यक्तिहरूको अद्यावधिक विवरणको सार्वजनिकीकरण लगाएतका गतिविधिहरू समेट्दै १३ भाद्र २०७४ मा अन्तर्राष्ट्रिय बेपत्ता दिवस मनाइँदैछ । हरेक बर्षको अगष्ट ३० लाई विश्वभर अन्तर्राष्ट्रिय बेपत्ता दिवसको रुपमा मनाउने गरिएको छ ।

प्रत्येक बर्ष, आईसीआरसी र नेपाल रेडक्रस सोसाइटीले नेपालको दशक लामो सशस्त्र द्वन्द्वका कारण बेपत्ता भएका व्यक्तिहरुको सूची सार्वजनिक गर्दै आएका छन् । उक्त सूचीमा १ हजार ३ सय ३५  बेपत्ता भएका व्यक्तिहरुको नाम रहेको  छ । उक्त  सूची आईसीआरसीको वेबसाइटमा  १४ भाद्रदेखि उपलब्ध हुनेछ ।

नेपालमा बेपत्ता भएका व्यक्तिहरूको सम्झनामा समर्पित यस समारोहको आयोजना रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी), नेपाल रेडक्रस सोसाइटी र बेपत्ता परिवार समाज नेपाल (नेफाद) ले संयुक्त रुपमा गर्दैछन् ।

समारोहमा बेपत्ता व्यक्तिहरूका परिवारजनका अलावा सरकारी र गैर सरकारी प्रतिनिधि, सुरक्षाबलका सदस्य, नागरिक समाज, संचारकर्मी तथा रेडक्रसका स्वयंसेवकहरूको उक्त समारोहमा सहभागिता रहने छ ।

कमलपोखारी, काठमाडौंस्थित रसियन कल्चरल सेन्टरमा आयोजित कार्यक्रममा प्रदर्शन गरिने नेफादद्घारा उत्पादित निर्मित   संक्षिप्त वृत्तचित्रमा बेपत्ता व्यक्तिहरूका परिवारजनको मनोव्यथा देख्न सकिन्छ भने यही विषयमा कवितावाचन समेत रहनेछ । साथै कार्यक्रममा एक जवान युवती बेपत्ता भएको कथावस्तुमा बुनिएको नाटक देशको एक स्थापित नाट्यसमूह ‘मण्डला’ द्घारा प्रदर्शन गरिनेछ । नाटकको अवधि करिब ५० मिनेट रहेको छ ।

बेपत्ता व्यक्तिका परिवारलाई आफ्ना बेपत्ता प्रियजनको बारेमा जान्न पाउने अधिकार हुन्छ । नेपालमा आईसीआरसीले सरकार तथा निकायहरूलाई बेपत्ता व्यक्तिको अवस्था स्पष्ट पार्ने दायित्व स्मरण गराउँदछ ।

“अन्तर्राष्ट्रिय मानवीय कानूनमा उल्लेख भएअनुसार बेपत्ता प्रियजनको अवस्थाको बारेमा लामो समयदेखि प्रतिक्षामा रहेका पीडित तथा परिवारहरूलाई जवाफ दिन एवं उनीहरूका अन्य आवश्यकता सम्बोधन गर्न ‘बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग’ तथा ‘सत्य निरुपण तथा मेलमिलाप आयोग’ ले हरसम्भव प्रयास गर्नेछन् भन्ने हामी अपेक्षा राख्दछौं,” आईसीआरसी काठमाडौं नियोग प्रमुख अन्द्रे पाकेले भन्नुभयो । “आजको यस दिनमा हामी २०७२ को विनाशकारी महाभूकम्पमा परि हराइरहेका व्यक्तिहरू तथा हालैको बाढीका कारण अवस्था अज्ञात रहेका व्यक्तिहरू, जसको खबरका लागि परिवारजन चिन्तित छन्, लाई पनि सम्झन चाहन्छौं ।”

आईसीआरसी एक निष्पक्ष, तटस्थ र स्वतन्त्र संगठन हो जसको एकमात्र मानवीय लक्ष्य सशस्त्र द्वन्द्व र हिंसाका अन्य परिस्थितिहरूबाट पीडित व्यक्तिहरूको जीवन र मर्यादाको संरक्षण गर्नु र उनीहरूलाई सहयोग उपलब्ध गराउनु हो । आईसीआरसीले मानवीय कानून तथा विश्वव्यापी मानवीय सिद्धान्तहरूको प्रवर्धन गर्दै र तिनलाई सुदृढ पारेर पीडालाई रोक्ने प्रयत्न पनि गर्दछ ।