“मेरै घर र प्रियजन गुमाउनुपरयो, भूकम्पले ल्याएको संकटको भुक्तभोगी म आफैं बने । तरपनि साहस बटुलेर भूकम्पबाट म जस्तै समस्यामा परेकाहरुका लागि सहयोग गर्न कस्सिएको छु ।” सन्तोष मिश्र, नेपाल रेडक्रस सोसाइटी स्वयंसेवक

बैशाख १२ गते गएको बिनाशकारी भूकम्प पश्चात ताहाचल, सोल्टीमोडमा रहेको नेपाल रेडक्रसको केन्द्रीय कार्यालय अहिले मानवीय सहयोगका क्रियाकलापहरुका लागि माहुरीको घार जस्तै भएको छ । भवन वरिपरि धेरै स्वयंसेवकहरु भर्खरै एयरपोर्टबाट आएको राहत सामाग्री ट्रकबाट निकाल्दै गोदाममा राख्न ब्यस्त देखिन्छन् । गरयाएका अन्य कामहरु पनि यथाशिघ्र फत्ते गर्न उनीहरु ब्यस्त देखिन्छन् । बढी नै अनुभव भएकाहरु भने भूकम्पबाट प्रभावित भएकाहरुलाई मानवीय सेवा प्रदान गर्न र धेरै नै लामो समयसम्म फिल्डमा खटेका सहकर्मीहरुलाई पालो दिन फिल्ड जाने तयारीमा देखिन्छन् ।

भवन वरिपरि धेरै स्वयंसेवकहरु भर्खरै एयरपोर्टबाट आएको राहत सामाग्री ट्रकबाट निकाल्दै गोदाममा राख्न ब्यस्त देखिन्छन् । ©आइ.सी.आर.सी, आदेबायो ओलोवो आके

भवन वरिपरि धेरै स्वयंसेवकहरु भर्खरै एयरपोर्टबाट आएको राहत सामाग्री ट्रकबाट निकाल्दै गोदाममा राख्न ब्यस्त देखिन्छन् । ©आइ.सी.आर.सी, आदेबायो ओलोवो आके

स्वयंसेवकहरु नेपाल रेडक्रसका आधारशीला हुन् किनभने उनीहरु नेपालभर फैलिएका छन्, आफ्नो देशको भूगोलसँग परिचित छन् र स्थानीय भाषा बोल्छन् । भौतिक लाभको अपेक्षा नगरि स्वयंसेवाको भावनाले ओतपोत यी स्वयंसेवकहरुको कार्यबाट मानवीय सेवा पुरयाउन रेडक्रसलाई थोरै खर्च पर्छ ।

सन्तोष मिश्र यस्तै एक स्वयंसेवक हुन् । नेपाल रेडक्रससँग केही समय काम गरेका यी ३० बर्षे निकै अनुभवी देखिन्छन् । उनले भने, “भूकम्प आँउदा म काठमाडौं मै थिँए । मेरो परिवार प्रभावित भयो र यस विपत् मा हामीले आफ्नो नजिकको नातेदार गुमाउनु परयो ।”सन्तोषलाई गाँउमा आफन्तजनहरु पनि प्रभावित भएका होलान् जस्तो लाग्यो । राजधानीमा आफ्ना परिवारहरु सुरक्षित संझेर उनी तत्कालै आफ्नो पुख्यौलीघर नुवाकोट हिंडिहाले ।

त्यहाँ पुग्दा त भूकम्पले सत्यानासै पारेको रहेछ । हाम्रो लगायत बस्तीका सबै घरहरु भत्केका रहेछन् ।”यो भन्दै गर्दा उनी निकै भावविभोर भए । निकै गम्भिर मुद्रामा उनले भने, “मेरो तीस बर्षे जीवनकालमा यस्तो विपत् कहिल्यै देखेको थिइन । यस्तो विपत् को त कल्पनै थिएन । लाखौं मानिस, संरचना, पशुपंक्षी, कोही बचेनन् ।

आँफू बिचल्लीमा परेको कहानी बताउदै गर्दा सन्तोष अलि खुले । “त्यो दिन शनिवार नहुँदो हो त, त्यस भूकम्पले पुरयाउने मानवीय क्षतीको कल्पना पनि गर्न सक्दिन । बिदा भएकाले धेरैजना घर बाहिर रहेकाले पनि ठूलो मानवीय क्षती हुनबाट जोगियो ।

यस्तो विपत्का बेला पनि कसरी धैर्यता राख्न सम्भव भयो र आफ्ना साथीहरुलाई जोखिम मोल्दै मानवीय सहायता गर्न उनी तत्पर भए त ? “ म आँफैले पीडा भोगे पनि, जोखिमका बाबजूद सहयोग गर्न पाँउदा खुसी लाग्छ । मेरै घर र प्रियजन गुमाउनुपरयो, भूकम्पले ल्याएको संकटको भुक्तभोगी म आफैं बनें । साहस बटुलेर भूकम्पबाट म जस्तै समस्यामा परेकाहरुका लागि सहयोग गर्न म कस्सिएको छु ।

भूकम्पले ल्याएको बिनास र क्षतीमा पीडितहरुलाई सघाउन सन्तोष जस्तै नेपाल रेडक्रसका स्वयंसेवकहरु देशका ७५ जिल्ला मध्ये अति प्रभावित जिल्लाहरुमा कार्यरत छन् । उनीहरुले अस्थाई बसोवासका लागि टारपोलिन, खाद्य सामाग्री, औषधि, पानी र मनोसामाजिक सेवाहरु रेडक्रस तथा रेड क्रिसेन्टहरुको अन्तर्राष्टिय महासघं (आईएफआरसी) र रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी) को सहयोगमा प्रदान गरिएको छ ।

अरु पढनुहोस

परिवारलाई आफ्ना मृत प्रियजनको मर्यादित अन्तिम संस्कार गर्ने अवसर दिइनुपर्दछ

नेपाल भूकम्प पीडितलाई सहयोग र परिवार भेटघाट